सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवासमा सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यो सहमति भएको हो । यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन । समितिको कार्यादेशबारे सहमति हुन बाँकी छ ।
समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गर्नेछन् । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।