साझेदारी गर्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई राहत दिने गरी फैसला सुनाएका हुन् ।

फैसालअघि अन्तिम निर्णयका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरेका थिए । इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाइएको थियो ।

यसअघि २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीशले पनि सन्दीपलाई बलात्कार प्रकरणमा दोषी ठहर गर्नुअघि उक्त सीसीटीभी फुटेज इजलासमै हेरेका थिए। न्यायाधीशद्वयले आजै फैसला दिने गरी दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका थिए ।