गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ बजेका लागि बोलाइएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । शनिबार बसेको दुवै पार्टीहको संसदीय दलको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेका थिए ।