सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हासिल गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितका लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए । एक समय १८ बलमा २७ रन चाहिँदा राजस्थानको ६ विकेट हातमा थियो । तर त्यही अन्तिम तीन ओभरमा हैदरावादले खेल पक्षमा मोड्यो र जित हासिल गर्यो ।
लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात निकै खराब रह्यो । जोस बटलर र कप्तान सञ्जु सामसनले खाता पनि खोल्न सकेनन् ।तर यशस्वी जैसवाल र रियान परागले उत्कृष्ट ब्याटिङको नमुना पेश गरे । दुबैले शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि १३४ रनको साझेदारी १४औं ओभरमा टुटेको थियो । जैसवालले ४० बलमा ६७ रन बनाएर आउट भए ।रियान परागले पनि अर्धशतक बनाएर ४९ बलमा ७७ रन बनाएपछि १६औं ओभरमा १५९ रनको स्कोरमा चौथो विकेटका रूपमा आउट भएका थिए । शिमरोन हेटमायरले छिटो रन बनाउने प्रयास गरे । तर उनी पनि ९ बलमा १३ रन बनाएर १८ औं ओभरमा १८१ रनमा आउट भए । ध्रुव जुरेलले पनि रहन बनाउन सकेनन । ठूलो सट खेल्ने प्रयासमा १९ औं ओभरमा १ रन मात्र बनाएर आउट भए । त्यस ओभरमा ७ रन मात्र आयो । अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो ।
पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई शानदार जित दिलाए । पावेल २७ रनमा आउट भए । हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । हैदराबादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए ।ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए ।
राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए ।राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ ।