६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।
यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।
अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । एन्टोनी ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । त्यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरेका छन् ।