साझेदारी गर्नुहोस्

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

महाशाखाले आगामी पाँच दिन तराइमा तातो हावा चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र दिउँसो तातो हावा चल्ने देखिएकाले वैशाख १० गते देखि १४ गतेसम्म सतर्क रहन भनिएको हो ।

लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा विगत दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौँजस्ता उपत्यका तथा खोँचहरूमा पनि तापक्रम बढ्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।

मधेश प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।