सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले हिजो दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

रिटमा सुदूरपश्चिम प्रदेश प्रमुख र उनको कार्यालय तथा मुख्यमन्त्री सोडारी र उनको कार्यालयलाई विपक्षी बनाइएको छ । संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुनः आह्वान गरेको रिटमा उल्लेख छ ।

चौधरीले मुख्यमन्त्रीमा सोडारीको नियुक्त समेत गैरसंवैधानिक भएको जिकिर गरेका छन् । आफूले सरकार गठनलाई आवश्यक बहुमत सदस्यको दस्तखतसहित दाबी पेस गरे पनि प्रदेश प्रमुखले संवैधानिक कर्तव्यबाट च्यूत भई आफूलाई मुख्यमन्त्री बन्न वञ्चित गरेको निवेदक लक्ष्मणकिशोरको दाबी छ। यस्तै, उनले रिटमा सोडारीको मुख्यमन्त्री नियुक्तिका सबै प्रक्रिया रोकी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्।