साझेदारी गर्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवाका लागि नेता, तस्कर र स्वार्थ समूहले सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही गर्ने चेतावनी दिएका छन् , ७७ वटै जिल्लाका सुरक्षा समितिका अधिकारीलाई भर्चुअल निर्देशन दिँदै मन्त्री लामिछानेले सरुवा–बढुवाको चिट आउने र गल्ती गर्दा बचाउन सिफारिस गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘तपाईंहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई कारबाही गर्छु।’ मन्त्री लामिछानेले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न सबै जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देश गरेका छन्। तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने पनि सुरक्षा अधिकारीहरूसमक्ष स्पष्ट पारे ।