साझेदारी गर्नुहोस्

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको भन्दै भीम उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा परामर्श दाता र ठेकेदार कम्पनी पनि छन् ।

अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

आयोगले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनकाअनुसार मेलम्ची आयोजनाको निर्माण व्यवसायी सिएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको आरोप अख्तियारले लगाएको छ।

आयोगले अर्थमन्त्रालयका तत्कालीन सह-सचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरूबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो दाबी गरिएको छ ।

त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ । मेलम्ची खानेपानी बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो माग दाबी गर्दै उनीविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।

को-कोविरुद्ध चल्यो मुद्दा?

  • तत्कालीन बोर्ड अध्यक्ष एवम् खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा
  • अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल
  • मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय
  • मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ
  • मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत राम चन्द्र न्यौपाने
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल
  • मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) केदार प्रसाद अर्याल
  • समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप-कार्यकारी निर्देशक (निर्माणस्थल) भोजबिक्रम थापा
  • परामर्शदाता ईप्टिसा- बीईटीएस जेभीका तत्कालीन डेपुटु टिम लिडर शिवकुमार शर्मा
  • परामर्शदाता ईप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सलटिङ सर्भिसेज लिमिटेड जेभी
  • निर्माण व्यवसायी सीएमसी डी राभेना