मनिला – दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता अन्य ९ जनाको खोजी कार्य जारी छ ।
फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको शहर नजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो । सो दुर्घटनामा ३२ जना घाइते भएका छन् । विश्व जोखिम सूचकाङ्क २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ।