नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अभियान सुरु गरिएको हो। कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताए।उनले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरे।
आगामी सोमबारदेखि सुरु हुने महासमिति बैठकका लागि शुक्रवार केन्द्रीय समितिमा पार्टी सनातन हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै विशेष प्रस्ताव पेश गरेका २२ जना नेताले शनिवार महाअभियान घोषणा गरेका हुन् । अभियानमा सामेल अधिकांश नेता सभापति शेरबहादुर देउवा निकट छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति शेरबहादुर देउवालाई उक्त प्रस्तावपत्र बुझाएका थिए। जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीता कुमारी, दिलेन्द्र बडु, डा। डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन्। हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन्। प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन्।