ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।
‘शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन,’ उनले भनिन् ।
परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ ।
परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताइन् । परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ ।
सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका छन् ।