साझेदारी गर्नुहोस्

फेब्रुअरी १४ अर्थात् प्रेम दिवस। प्रत्येक वर्ष ‘सन्त भ्यालेन्टाइन’ को सम्झनामा विश्वभर ‘भ्यालेन्टाइन्स डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइन्छ। तर यो दिनको पछाडि एक दुःखद इतिहास लुकेको छ। जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ।प्रेमकै खातिर भ्यालेन्टाइनले फाँसीमा चढ्नु परेको थियो। यो कथा तेस्रो शताब्दीको हो। रोमका राजा क्लोडियस प्रेम र विवाहको मान्यता विपरीत थिए। बिहे गरेपछि पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने उनको राय थियो। त्यही कारण उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने नियम बनाइदिए।

तर, यो कुरा सन्त भ्यालेनटाइनलाई मन परेन। उनले क्लोडियसको नियमको विरोध गर्दै सबैलाई बिहे गर्नका लागि उक्साए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे। जब राजालाई यो कुरा थाहा भयो उनले भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश दिए।

उनलाई कालकोठरीमा बन्दी बनाइयो। प्रेम गर्न उक्साएकै कारण भ्यालेन्टाइनलाई फाँसी दिने निधो भयो। सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे। जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षर सहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ। उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए।

सन् २६९ को १४ फेब्रुअरीमा उनलाई फाँसी दिइयो। यही दिनको स्मरणमा मानिसले ‘भ्यालेन्टाइन डे’ मनाउन सुरु गरेका हुन्। पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेन्टाइन डेमा हो। अहिले यस संस्कृतिले दक्षिण एसियामा व्यापक ढंगले प्रवेश पाएको छ।