साझेदारी गर्नुहोस्

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी शक्तिहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९औँ जनयुद्ध दिवसको अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।

‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।’ परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए ।