साझेदारी गर्नुहोस्

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनबीचको सम्बन्ध राम्रो देख्न नचाहेको टिप्पणी गरेकी छन् ।काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देश हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् । ‘ अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको भैरहेको भन्दै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

अहिले धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ । उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेकोमा जोड दिईन् । नेपालमा नीतिगत सुधारको खाँचो रहेको र नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने तर्फ उनले ध्यानाकर्षण गराईन् । नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्या रहेको भन्दै उनले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् ।