लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा आज नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी तथा निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित विषयबारे नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।
त्यस अवसरमा अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्दै थप लगानी आवश्यक रहेको बताए । अहिले हरित अर्थतन्त्र/लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल लगानीको आकर्षक गन्तव्य भएको मन्त्री महतले बताए ।