काठमाडौँ । निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार भएको जानकारी आएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काट्दै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए/नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न भनिएको जानकारी दिए।
मौन अवधिका बीच पनि केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।