अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको भन्दै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । आवश्यकता अनुसार खर्च गर्न स्रोत साधन निकै कम रहेको अवस्थामा खर्चको प्राथमिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री महतले आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने धारणा राखे । उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै अव निराश हुनुपर्ने अवस्था नदेखिएको बताए । त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको र बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या नरहेको बताए ।