भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।
गृह मन्त्रालय मातहतको अध्यागमन विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको छ ।अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।
साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।
साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण (नगद वा डेविट\क्रेडिट कार्ड) पनि बुझाउनु पर्ने छ ।
युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।
अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ।
‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्व:घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’
विदेश जानुअघि उक्त देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न पनि विभागले अनुरोध गरेको छ।
भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ।
भारत र बेलायती सेनामा सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने गैरकानुनी र राष्ट्रहित विपरित भएको भन्दै यस्ता काममा जाने व्यक्तिहरूको उद्धार गर्न कठिन हुने भन्दै यसमा संलग्न नहुन अनुरोध गरेको छ।