साझेदारी गर्नुहोस्

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ।

वि.सं. २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ। उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए। यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनले बताए।

हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा सात प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताए। ‘हामीले बारम्बार कामको गति बढाउन निर्देशन गरिरहेका छाँै, तर गति असाध्यै कम छ’, योजना प्रमुख मगरले भने, ‘हामी खरायोको गतिमा दौडिनुपर्ने अवस्था छ, तर गतिचाहिँ कछुवाकै छ।’

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उनले बताए। जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ।