साझेदारी गर्नुहोस्

उच्च अदालत पाटनले एनसेलको खरिद बिक्री सम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

मंसिर २१ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। ‘नेपाल दूर सञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा.द्वारिकानाथ ढुंगेलसमेत विरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट २०८०/०८/२१ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ आदेशमा भनिएको छ।

यस रिटलाई चाँडो किनारामा लगाउपर्ने देखिएको भन्दै लिखित जवाफ परेपछि वा पर्ने अवधि समाप्त भएपछि अग्राधिकार दिई कुनै पक्षबाट पनि पेशी स्थगीत गर्न नपाउने गरी पेशी चढाउन पनि आदेश भएको छ। एनसेल आजियाटाले ८० प्रतिशत स्वामित्व रहेको रेनल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।