साझेदारी गर्नुहोस्

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन थालिएको छ ।भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैंले भत्काउन सुरू गरेका हुन् । घर भत्काइसकेपछि दोस्रो किस्ता भुक्तानी गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार दमौली बजार क्षेत्रका घरको क्षतिपूर्तिका लागि करिब छ करोड रूपैयाँ खर्च हुनेछ । ‘सबै जनाले पहिलो चरणको मुआब्जा लिएमा ६० प्रतिशत वितरण सकिन्छ। अबको डेढ महिनाभित्र दमौली बजार क्षेत्रका घर भत्किइसक्ने अपेक्षा गरिएको छ,’ उनले भने।

बन्दीपुर गाउँपालिकास्थित डुम्रेबजार क्षेत्रबाट सडक विस्तार तीव्र गतिमा अघि बढेकाले त्यसपछि दमौली बजार क्षेत्रमा काम गरिने उनले बताए। घरधनी स्वयंले घर भत्काउने भएकाले आयोजनाले उनीहरूलाई घर भत्काउन ताकेता गर्ने, समय समयमा बैठक बस्ने र नगरपालिकाले पनि भत्काउन प्रोत्साहन गर्ने लगायत काम भइरहेको उनले बताए ।