साझेदारी गर्नुहोस्

झापा जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् । हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ ।