काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो। मेयर बालेन्द्र शाहले परियारसहित तीनजनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए। सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो।
काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो। प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमाथि छानबिन भइरहेको छ। नगरसभाले गरेको निर्णयविरुद्ध कर्मचारी भर्तीमा कीर्ते गरेको पाइएपछि अधिकारीमाथि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन थालिएको हो। परियार देशकै कान्छो सहसचिव हुन्। परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ। २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोकसेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो। उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन्।