साझेदारी गर्नुहोस्

पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए। उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको जानकारी दिए। जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले बताए।

उनका अनुसार झापा गाउँपालिकामा छ जना र बिर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ । झापा गाउँपालिका–७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले जानकारी दिए। उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको जानकारी दिए। उनीहरुको शरणामती हेल्थपोस्टमा रक्त नमुना परीक्षण गर्दा दादुरा देखिएको हो । रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो ।

यसैगरी विर्तामोड नगरपालिका–३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए।