साझेदारी गर्नुहोस्

टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताउनुभयो । उहाँले सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानविनको क्रममा रहेको बताउनुभयो । उहाँले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानविन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताउनुभयो ।

मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) प्रणाली कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले कार्यान्वयनको चरणमा भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको स्वीकार गर्नुभयो । उहाँले एमडिएमएस प्रणाली देशको लागि आवश्यक भएको सरकारको धारणा रहेको बताउनुभयो । उहाँले सरकार प्रभावकारी कार्यान्वयनतर्फ लागि रहेको बताउनुभयो ।