साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा रू ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रू १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने रू नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।