साझेदारी गर्नुहोस्

सरकारले घर जग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु आर्थिक वर्षको पुसमा मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ पटक घरजग्गा कारोबार भएको छ भने तीन हजार ९०९ पटक नामसारी भएको छ ।

गत मंसिरमा भने ४१ हजार ८५१ पटक घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, तीन हजार २२४ पटक नामसारी भएको थियो । यसरी नामसारी र कारोबार बढ्दा मंसिरको तुलनामा सरकारले पाउने राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । मंसिरमा भने दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो ।