साझेदारी गर्नुहोस्

दमौली (तनहुँ)। तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टँुडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ ।” अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।