प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन्। नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए। उनले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि दोहोर्याए।






















