साझेदारी गर्नुहोस्

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरु को संख्या घटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै मन्त्री श्रेष्ठले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताउनुभएको हो शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताउनुभयो । यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको बताउनुभयो । उहाँले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहो¥याउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।