प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका बेलामा भएको १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात सम्झौतामा भारतले चीनको लगानी आयोजनामा असहमति जनाएको बताए ।
चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत भारतले नकिन्ने उसको अडान रहेको प्रधानमन्त्रीको भनाइ छ । आफूहरुले ग्लोवल टेण्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा राखेको बताउँदै उनले त्यसका लागि अझै छलफल हुने स्पष्ट पारे ।
यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भारतले नेपालमा आफूले बनाएका कम्पनीबाट उत्पादित विद्युत मात्रै लैजाने भन्ने कुरा सत्य नरहेको जिकिर गरे ।