क्रिकेटर सन्दिप लामिछाने तत्काल पक्राउ नपर्ने देखिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपनि लामिछाने तत्कालै पक्राउ नपर्ने देखिएको हो ।
फैसला आएर पुनरावेदन गर्ने म्याद सम्म लामिछाने पक्राउ नपर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। ‘जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद हुन्जेल उनी पक्राउ पर्दैनन्। पुनरावेदन गर्न पाउने कम्तिमा ७० दिन र थप ३० दिन गरी १०० दिनसम्म म्याद हुन्छ। त्यसैले त्यो अवधिभरि उनी पक्राउ पर्दैनन्,’ उनले भने।त्यो बेला पनि थुना बाहिर बसेरै पुनरावेदन गरिपाउँ भन्दै सन्दिपले निवेदन दिन पाउने कानुनी व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुना बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउन सक्ने उल्लेख छ।
यस्तो सुविधा दिने कि नदिने भनेर पुनरावेदन दर्ता गर्ने अदालत (उच्च अदालत) का रजिष्ट्रारले निर्णय गर्न सक्नेछन्।