धर्मगुरुको नाममा हत्या, बलात्कारजस्ता आरोप लागेपछि फरार रहेका ‘तपस्वी’ रामबहादुर बम्जनको हात्तिगौडास्थित घरबाट प्रहरीले १६ देशका विदेशी मुद्रासहित ३ करोडभन्दा बढी नगद बरामद गरेको छ।
परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो। ‘३ करोड ३ लाख ७५ हजार नगद, ल्यापटप, १५ थान मोबाइल र ३५ थान पेन ड्राइभसहित १६ देशका मुद्रा पनि फेला परेका छन्’, सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार आजै जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिने तयारी भैरहेको छ।
लिटिल बुद्ध उपनामले परिचित तपस्वी बमजन मंगलवार साँझ हात्तिगौडाबाट पक्राउ परेका थिए। चार वर्षयता सिआइबीको खोजी सूचीमा रहेका बम्जन आफू विभिन्न जंगलमा बस्दै आएको र भारतको केही स्थानमा पुगेको बयान दिएका छन्।