साझेदारी गर्नुहोस्

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।

 

तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । इजलासले काठमाडौँदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ । अदालतले पीडित भनिएकी गौशला– २६ लाई नाबालिग नरहेको ठहर गरे पनि निजको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको फैसलामा उल्लेख गरिएको छ ।