नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए । “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उनले भने । प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।