साझेदारी गर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै जनताले देश बचाउन बोलाएको र आफूले त्यसलाई नजिकबाट नियालिरहेको बताएका छन् ।  आज भैरहवामा नागरिक अभिनन्दन ग्रहण गरेपछि ज्ञानेन्द्र भाषण गरेका हुन् । सबै जनतालाई उनले एक ठाउँमा उभिन अपिल पनि गरे ।पूर्व राजा शाहले भने, ‘म जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु। मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ भनेको सुन्छु।’

तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुख–दुस्ख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’ देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताए । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उनले भने । उनले नाम नलिई राजनीतिक दलका नेताहरूको आलोचना गरे । पूर्व राजा शाहले भने, ‘अनुहार फेरी फेरी षड्यन्त्र नगर।’ राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी छ।