भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताउनुभएको छ । शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ ।
मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रिय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताउनु हुन्छ । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उहाँले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताउनुभयो । उहाँले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताउनुभयो । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उहाँको भनाइ छ ।