साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्। बुधबार बागलुङमा सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्दै पौडेलले सबै प्रदेश भन्दा गण्डकी राम्रो प्रदेश बनेकाले त्यसबाट फाइदा उठाउनुपर्ने बताए। ‘यो गण्डकी प्रदेश निकै नै व्युटिफुल प्रदेश बनेको छ, यसले उत्तरमा चीन र दक्षिणमा भारत दुबै देशलाई छुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यी दुई देशको उन्नतिबाट लाभ लिनका लागि चीन र भारतको सिमाना जोड्ने मार्ग बनाउनुपर्छ। त्यसका लागि कोरला र त्रिवेणी जोड्नुपर्छ।’ चीन र भारतलाई व्यापारिक रुपमा जोड्दा नेपालले लाभ लिने उनको भनाइ छ।राष्ट्रपति पौडेलले आफू स्थानीय विकास मन्त्री हुँदा बागलुङ बुर्तिबाङ र बागलुङ कुस्मीसेरा सडकको निर्माण सुरु गरेको बताउँदै अहिले लोकमार्ग बनेको र त्यसलाई पूरा गर्नका लागि सबैले ध्यान दिनका लागि आग्रह गरे। ‘मध्य पहाडी लोकमार्ग, कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय योजनाहरूलाई पूरा गर्नका लागि माननीयज्यूहरूले सम्बन्धित ठाउँमा आवाज उठाउनुस्, म तपाईहरुको साथमा छु,’ पौडेलले भने। पौडेलले बागलुङेहरू संसारभर छरिएर सम्मानजनक काम गरिरहेको समेत स्मरण गरे। ‘म विश्वको जुनकुनै ठाउँमा पुग्दा पनि बागलुङबाट पुगेकाहरूले केही न केही पेसा व्यवसाय गरेको भेट्छु,’ उनले भने, ‘यहाँ आउँदा मैले आफ्नो घर आएको अनुभूति गरेको छु।’