साझेदारी गर्नुहोस्

समाजसेवी तथा राप्रपाका नेता विनय रावलले बाघको आक्रमण बाट ज्यान गुमाएका बर्दियाका सुमित थारूको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

गत शनिबार जिल्लाको बारबर्दिया नगरपालिका वडा नं.४ बैरिया ज्वाला गिरि टाेल बस्ने रामशंकर थारूका १२  वर्षीय छोरा सुमितलाई बाघले आक्रमण गर्दा घाइते भइ उपचारको क्रममा उनको मृत्यु भएपछी मृत्यु पर्यन्त गरिने सँस्कारको लागि भन्दै  रावलले आर्थिक सहयोग गरेका हुन् ।

शनिबार बबई नदीमा नुहायर घर फर्किने क्रममा जिरा सामुदायिक वनमा सुमितलाई बाघले आक्रमण गरि शक्त घाइते बनाएको थियो । त्यसपछि उनलाई उपचारको लागि जिल्लाको जयनगर स्थित आर.सि.मेमोरियल अस्पतालमा लगिएको थियो । बाघको आक्रमणबाट शक्त घाइते भएका सुमितको शनिबार राती एक बजे उपचारको क्रममा निधन भयो । केही वर्ष पहिला श्रीमती गुमाएका रामशंकरले छोरा गुमाएको र काजक्रिया गर्न समेत धौधौ परिरहेको खबर सुन्ने बित्तिकै नेता विनय रावलले थारुको परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरे ।

यसका साथै नेता रावलले मृतककी १३ वर्षीया दिदी स्मृति थारूलाई माध्यमिक शिक्षा परिक्षा (यस. ई.ई ) तह सम्म त्यहीँको श्री पञ्चजन्य माध्यमिक बिद्यालय बारबर्दियामा निशुल्क पढाउने  र पछि उच्च शिक्षाका लागी काठमाडौँ लगिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले  स्मृतिको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन रावल आफैले गर्ने घोषणा समेत गरेका छन् । स्मृति अहिले गाउँकै विद्यालयमा कक्षा आठमा अध्ययनरत छन् ।

मानव सेवा नै सर्वोत्कृष्ट धर्म हो भन्ने मान्यतालाई आत्मसात गर्दै आएका रावल लामो समय देखि समाजसेवा सक्रिय छन् । यसो त उनी राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को केन्द्रिय सदस्य समेत हुन् । उनी राजनीति भन्दा पनि समाजसेवालाई प्राथमिकता दिदै आएका छन् । यहि कारण हुन सक्छ अहिले आम नागरिकहरुमा `जहाँ समस्या,त्यहाँ विनय रावल´ भन्ने श्लोगन उत्तिकै लोकप्रिय हुँदै गएको छ ।