साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि २६४ ठाउँमा बस बिसौनी बनाउने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ । कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले बताए ।

यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीन वटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ । बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम सुरु हुने कामपाको भनाइ छ । त्यसैगरी, बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारीसमेत भइरहेको बताइएको छ । यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ ।