साझेदारी गर्नुहोस्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउनु भएको छ । नेपाल क्लियरिङ हाउसको राजधानीमा सम्पन्न १५ औं वार्षिकोत्स्व समारोहमा उहाँले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनेदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउँदै लैजाने बताउनु भयो । उहाँले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गर्नुभयो ।

नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने गभर्नर अधिकारीले बताउनुभयो । आम नागरिकहरु पनि चाँडोभन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताउँदै उहाँले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताउनु भयो ।