प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन्। शनिबार जनतासँग माओवादी विशेष रुपान्तरण अन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत् नपुगेको नरहने जिकिर गरे।
डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको उनको भनाइ थियो। प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताए। लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको उनको दाबी थियो। ‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य। मैले जनार्दनलाई उर्जामन्त्री बनाएपछि, कुलमानलाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो।
उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो। तर हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ। अरूले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन। अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहनेछैन। डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ।’ उनले भने।