साझेदारी गर्नुहोस्

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द थालेको छ। प्राधिकरणले जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्ट गरी ४ वटा उद्योगको बिजुली काटिदिएको छ । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन र बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न निर्देशन दिए लगत्तै प्राधिकरण एक्सनमा उत्रिएको हो । गत भदौमा भने प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड लाइन र ट्रंकलाइनवापतको शुल्क उठाउन रोकेका थिए। तर पछिल्लो पक भने उनले पैसा उठाउन वा विजुली काट्न निर्देशन दिएका थिए ।

महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए ।  ५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ। यस्तो बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको प्राधिकरणको हिसाब छ। यसमा करिब २० अर्ब साँवा र बाँकी हर्जना छ। तर डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतालाई लिएर व्यवसायी र प्राधिकरणबीच लामो समयदेखिको विवाद छ।२०७२ सालदेखि उद्योगीहरूले ट्रंक र डेडिकेटेडलाइनको सुविधा लिन थालेका थिए।

देशमा ऊर्जा संकटका बेला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका बेला केही उद्योगले यो सुविधा पाएका थिए।त्यसबेलादेखिको विद्युत महसुल भने ती उद्योगहरूले अहिलेसम्म प्राधिकरणलाई तिरेका छैनन्।