प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ क्रमभंग गर्ने गरी काम थाल्ने बताएका छन्।
सुनसरीस्थित इनरुवा सब-स्टेशन उद्घाटनका क्रममा शुक्रबार सम्बोधन गर्दै दाहालले अब नयाँ रुपमा अघि बढ्ने बताए।
दाहालले मुलुकमा केही नभएको भनेर जनतालाई निराश बनाउने भाष्य तयार पारिएको पनि बताए। अब त्यसलाई चिरेर अघि बढ्ने गरी सरकारले काम गर्ने पनि उनले बताए। ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को । र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्रीले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको बताए । आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन समेत उनले आग्रह गरे ।
‘मुलुकमा एउटा भाष्य बनाइँदैछ, जनतालाई निराश पारिँदैछ, अँध्यारो मात्रै छ, जनता बस्न लायक छैन भनिँदैछ’, उनले भने, ‘यो नकारात्मक भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षड्यन्त्रबाट सजग रहन सबैलाई अपिल गर्छु।’
उनले अब जनतामा विश्वास जगाउने गरी काम गर्ने बताए। ‘अब सरकारले केही गर्दैछ भन्न् विश्वास जनतामा जगाउनुछ’, उनले अगाडि भने, ‘सरकारको कार्यकाल एक वर्ष पुगेपछि एक धक्का दिने योजना छ। त्यसपछि नयाँ क्रमभंग हुनेछ। सरकारको कामले पनि नयाँ गति लिनेछ।’