साझेदारी गर्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताएका छन् । पार्टीको राप्ती नगर कमिटीको भेलालाई आज सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताए । “हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भने ।

 

बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले भने, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।”