साझेदारी गर्नुहोस्

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ । प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा थप दुई महिना निषेधित क्षेत्र तोकेको छ ।तोकिएकाे अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो ।

राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ । त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।