साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धैर्यतापूर्वक वैधानिक ढंगले नै अहिलेको सत्तागठबन्धन तोड्ने बताएका छन् ।
आज बिहान जन्मथलो तेह्रथुमको म्याङलुङ्गमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सत्ता गठबन्धन तोड्ने बताएका हुन् । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी–विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’ ओलीले भने ।  ओलीले आफ्नो अभियानमा पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेपछि संकल्प यात्रा सत्ता गठबन्धनको अयोग्यताविरुद्ध मात्रै भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । मध्यपहाडी संकल्प यात्राको क्रममा तेह्रथुममा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनको अयोग्यताविरुद्धको आन्दोलनमा किन तगारो हाल्न आएको भन्दै पहिचानवादीहरूलाई प्रश्न गरे ।

‘अभियानको क्रममा यतातिर परिस्थिति असहज बनाउन केही मान्छेहरूले खोजेका छन् । उनीहरूले अरुको विरोध गरेका भन्ने सोचेका होलान् । तर, उनीहरूको आफ्नै विरोध गरिरहेका छन् । उनीहरूले आफ्नो खुट्टामा मात्रै होइन टाउकोमै बञ्चरो हानिरहेका छन् ।’ ओलीले भने ।  म उनीहरूलाई भन्न चाहन्छु यो भावनात्मक आवेग र उत्तेजनालाई छाड्नुस् । शान्तिपूर्ण संवादबाट समस्याको समाधान खोज्न सकिन्छ । बाटाको ढुंगामुढा र विरोध प्रदर्शनले समस्या समाधान हुन्छ ? सल्लाका रुख ढालेर बाटो अवरोध गर्ने कुरा नचाहिने हुन् । हामी आफ्नो यात्रामा छौं । यो कसैको विरुद्ध होइन ।’ उनले आफूहरूको अभियान देशको पक्षमा भएको भन्दै विरोधमा उत्रिएका पहिचानवादीहरूलाई पनि बुझ्न आग्रह गरे ।’ उनले कालो झण्डा देखाएर हिंसात्मक र मुठभेडले समस्याको कुनै समाधान ननिस्किने बताए । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान गनुपर्ने उनको भनाइ छ ।