साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुलाई मिटरब्याजी नबन्न सुझाव दिएका छन् । एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बैंकको कामकारवाहीप्रति प्रश्न उठाउँदै सुझाव दिएका हुन् । बैंक र ऋणीबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा पनि ओलीले जोड दिए । बैंकहरुले ऋणीहरुको महत्व नै नबुझेको ओलीको गुनासो छ । ‘बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन सहयोगी भएर काम गर्नुपर्छ, डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ?’ ओलीले भने, डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण दिनेहरू फालाफाल भएकाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने । त्यसकारण यो सम्बन्ध तनावको होइन, सुमधुर बनाउनुपर्छ।’  बैंकहरुले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि ओलीले औंल्याए । ‘जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणबस् त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो एकलौटी गर्न नपाउने व्यवस्था हुनुपर्छ । अहिले ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ ।’ ओलीले भने ।