साझेदारी गर्नुहोस्

पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु गरी गत असारमा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र अघि बढाएको हो । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरी मार्किचोकसम्मको करिब तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरिसकेको छ ।

 

अब गरिने चार किलोमिटर दूरी कालोपत्र काम १० देखि १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेको भनाइ छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र केही समय अघि सम्पन्न भएको थियो ।

 

बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र तिहारपछि लगत्तै सम्पन्न गरेको हो । तिहारअघि तीन किलोमिटर र तिहारपछि तीन किलोमिटर दूरीमा कालोपत्र सम्पन्न गरेपछि आँबुखैरेनी क्षेत्रबाट काम सुरु गरेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । राजमार्गको पूर्वी खण्डको एकतर्फी सडकमा कालोपत्र गर्न थालेपनि एकतर्फी पूरै कालोपत्र गर्ने कार्य बाँकी छ । बरादीबाट डुम्रे, छिर्कनबाट दमौली र दमौलीबाट जामुनेसम्म एकतर्फी कालोपत्र गर्ने कार्य बाँकी रहेकाले एकतर्फी कालोपत्र गरिए पनि सवारीसाधनलाई धेरै सहज हुने विश्वास गरिएको छ ।